Monday 25th September 2017

कोरियामा एक तिहाइ मृत्यु सुतेकै अवस्थामा

काठमाडौं- रोजगारीका लागि कोरिया पुगेका कामदारको निधन सुतेकै अवस्थामा हुने गरेको तथ्य खुलेको छ । पछिल्लो समयमा कोरियामा आत्महत्याका घटना बढिरहेको बेला ठूलो संख्याका कामदार मृत्युको कारण समेत खुल्न नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  चार वर्ष कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारीको रूपमा काम गरी केही महिनाअघि सेवानिवृत्त भएका अनिलकुमार गुरुङले कोरियामा नेपाली कामदारको बढ्दो मृत्युको कारणबारे गरेको अध्ययनमा उक्त तथ्य फेला परेको हो ।

‘रोजगारीका लागि कोरिया पुगेका नेपालीको निधन सुतेकै अवस्थामा हुने गरेको छ,’ गुरुङले भने, ‘बेलुका राम्रोसँग सुतेको मान्छे बिहान मृत फेला पर्नुको कारण अत्यधिक मदिरा सेवन हो ।’ वैदेशिक रोजगार विभाग अन्तर्गत कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा १६ जना निधन हुँदा चारजनाले आत्महत्या गरेका थिए भने चारजना सुतेको अवस्थामा मृत फेला परेका थिए ।

पछिल्लो आठ महिनामा कार्यस्थल दुर्घटनामा चारजनाको निधन हुँदा तीनजनाको मृत्युको कारण खुलेको छैन । एक जनाको मात्रै स्वाभाविक मृत्यु भएको शाखाले जनाएको छ । रोजगारीका लागि कोरिया पुगेकामध्ये धेरै मृत्यु (३० प्रतिशत) सुतेकै अवस्थामा हुने गरेको छ । सुतेकै अवस्थाको निधनपछि २८ प्रतिशतले आत्महत्या गरेका छन् । मृत्युको तेस्रो कारण कार्यस्थल दुर्घटनामा १६ प्रतिशत, बिरामी भइकन १५ र सडक दुर्घटनाबाट सात प्रतिशतले ज्यान गुमाएको पाइएको गुरुङले गरेको अध्ययनमा उल्लेख छ  ।

रोजगारीका लागि कोरिया पुगेकामध्ये सन् २००७ यता सबभन्दा बढी २३ जनाले सन् २०१५ मा ज्यान गुमाएका छन् । आफू र आफ्नो परिवारको जीविकोपार्जनमा सहज हुने अपेक्षा राख्दै कोरिया पुगेकामध्ये हालसम्म एक सय ३० जनाको निधन भएको छ । जसमा ३६ जनाले आत्महत्या गरेका छन् । ३९ जनाको सुतेकै अवस्थामा निधन भएको छ ।

©2017 Takkarnews All Rights Reserved...