Monday 25th September 2017

अबको निशानामा सबैखाले भ्रष्टचारी : डा. गोविन्द केसी

काठमाडौं । डा. गोविन्द केसीले अबको चरणको निशानामा चौतर्फी भ्रष्टहरु पर्ने बताएका छन् । डा. केसीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

“आन्तरिक राजश्व विभागका निलम्बित प्रमुखदेखि अर्बौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाई झनै बढावा दिएको छ । सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “त्रिवि पदाधिकारीहरुको चर्को अनियमिताबारे दर्जनौं उजुरीहरु पर्दासमेत अख्तियारले छानविन अघि नबढाउनुले पनि संवैधानिक निकायको कार्य सम्पादनमाथि प्रश्न उठेको छ । यस्तो चौतर्फी भ्रष्टाचार र दण्डहीनता पनि हाम्रो अभियानको अबको चरणको निशाना बन्ने जानकारी गराउन चाहन्छौं ।”

यस्तो छ डा. केसीले जारी गरेको विज्ञप्ति 

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

मेडिकल शिक्षा र स्वास्थ्य शिक्षामा सुधारका लागि हामीले लामो अभियान चलाउँदै आएका छौं । त्यस क्रममा सरकारले बारम्बार हामीसित सम्झौता गर्ने तर तिनको कार्यान्वयन गर्नुको उल्टो तिनको उल्टो हुने गरी काम गर्ने प्रवृत्ति देखिएको छ । 

यसैबीच हामी सत्याग्रहकै बेला चिकित्साा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने भनेर विगतमा बारम्बार भएका सम्झौताहरु, माथेमा प्रतिवेदन र सरकारको बारम्बारको प्रतिबद्धताका बाबजुद त्रिवि कार्यकारी परिषदका पदाधिकारीहरुले काठमाडौं उपत्यकाभित्रै खाली रहेको एउटा आवासीय भवनलाई मेडिकल कलेजका रुपमा जालझेलपुर्वक सम्बन्धन दिएका थिए । हामीसँग लगातार सम्झौता भए अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई थप स्वायत्तता दिनको सट्टा यहाँ भएका अधिकार समेत खोसेर लगेका त्रिवि पदाधिकारीहरुले ती अधिकार दुरुपयोग गर्दै त्यस्तो सम्बन्धन दिएका थिए । त्यस्तो जघन्य शैक्षिक अपराध हुँदा पनि राज्यका अन्य निकायहरु मौन बसेकाले अरु जिम्मेवार व्यक्तिहरुको समेत त्यसमा मिलेमतो भएको देखिएको थियो । 

आज सो मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने गरी भएको निर्णय सकारात्मक छ तर जबसम्म चिकित्सा शिक्षा ऐन सही रुपमा आउँदैन, तबसम्म यस्ता जालझेलपूर्ण निर्णयहरु भइरहने देखिन्छ । हामीले दिएका सुझाव र माथेमा प्रतिवेदन अनुसार परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कामप्रति संसदले देखाएको उदासीनताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौं नेशनलको सम्बन्धन खारेजी र लगत्तै आउँदै गरेका चाडपर्वका कारण हामीले आजदेखि शुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम तत्कालका लागि स्थगन गरेका छौं । 

तुरुन्त परिमार्जनसहित चिकित्सा शिक्षा ऐन पारित गर्न तथा हाम्रा अन्य मागहरु पूरा गर्न सरकारलाई यसै विज्ञप्तिमार्फत स्मरण गराउँछौं । अन्य मागहरु यी हुन्ः जघन्य शैक्षिक अपराधमा संलग्न त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्दै आइओएमबाट खोसेर लगिएका अधिकारहरु तत्काल आइओएममै फर्काउनुपर्छ । काठमाडौं नेशनलको खाली भवनलाई मापदण्ड पुगेको भनेर प्रतिवेदन दिने टोली तथा सो कलेजसँगै अरु तीन उस्तै कलेजहरुमा मापदण्ड पुगेको भनेर फर्जी प्रतिवेदन दिने व्यक्तिहरुमाथि तत्काल छानविन गरेर कारवाही हुनुपर्छ । यी मागहरु पूरा नभएमा तथा विगतका सम्झौता प्रतिकुल हुने गरी कुनै पनि काम भएमा तत्काल सत्याग्रह शुरु गर्ने जानकारी गराउँछु । 

साथै, आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका  आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाई झनै बढावा दिएको छ । सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना गरेको छ । त्रिवि पदाधिकारीहरुको चर्को अनियमितताबारे दर्जनौं उजुरीहरु पर्दासमेत अख्तियारले छानविन अघि नबढाउनुले पनि संवैधानिक निकायको कार्य सम्पादनमाथि प्रश्न उठेको छ । यस्तो चौतर्फी भ्रष्टाचार र दण्डहीनता पनि हाम्रो अभियानको अबको चरणको निशाना बन्ने जानकारी गराउन चाहन्छौं । 

अन्तमा, पारदर्शिता ल्याउन र शक्तिमा हुनेहरुलाई जवाफदेही बनाउन विभिन्न बौद्धिक वर्ग, नागरिक समाज र सञ्चार माध्यमहरुले खेलेको भुमिकालाई सराहना गर्दै भविष्यमा अझ सशक्त र रचनात्मक रुपमा त्यस्तो भुमिका निर्वाह हुनेछ भन्ने आशा गर्दछु । 

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
२०७४।५।२१

©2017 Takkarnews All Rights Reserved...